-->
What is Acharya system? आचार्य पद्धति भनेको के हो ?

What is Acharya system? आचार्य पद्धति भनेको के हो ?

मौलिक जरोकिलो पार्टीले अंगीकार गरेको आचार्य पद्धति , ऋषिसत्ता र राजसत्ताको विशेषता र अनिवार्यताको बारेमा बुझौं ।
आचार्य पद्धति भनेको के हो ?
SUSHIL GAUTAM

सुशील गौतम ( अध्यक्ष- मौलिक जरोकिलो पार्टी )
१. आचार्य पद्धति भनेको ऋषि सत्ता र राज सत्ता बीचको विशिष्टीकृत प्रत्याभूत हो । ऋषि सत्ताको काम दर्शन, वाद, सिद्धान्तको निर्माण गर्ने हो । राज सत्ताको काम उक्त दर्शन, वाद, सिद्धान्तलाई राज्यसत्तामा प्रयोग गर्ने हो ।
२. ऋषि सत्ताले कुनै पनि कार्यकारी अधिकार लिएको दिनबाट आफुलाई ऋषि सत्ता भन्ने अधिकार गुमाउँछ त्यसकारण ऋषि सत्ताले कहिले पनि अध्यक्ष, उपाध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदको दावी गर्दैन । आफुले कार्यकारी अधिकार नलिएपछि राजकीय सत्ताले गरेको काम ठिक छ कि छैन भनेर सल्लाह, सुझाव, प्रतिक्रिया दिने नैतिक अधिकार पनि राख्छ ।
३. ऋषि सत्ता र राज सत्ता " चेक एण्ड ब्यालेन्स " को लागि मौलिक पद्धति हो । विजेता र पराजित दलहरू मिलेर संवैधानिक आयोगमा नियुक्त दिने नेपालको संवैधानिक व्यवस्था छ । दल भित्र अध्यक्षले गडबढी गरे कसले कारवाही गर्ने ? प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमाले भित्र गडबढ गरे कसले कारवाही गर्ने ? केन्द्रीय समितिमा अध्यक्षको अधिकार प्रयोग गरेर नयाँ सदस्य ल्याउन पाउने व्यवस्था राखिएको हुन्छ । उक्त अधिकार प्रयोग गरेर केन्द्रीय समितिमा अनुपात मिलाएपछि कारवाही गर्ने कसको हिम्मत ?
४. कसको पछाडी कति जना मान्छे छन् भनेर देखाएको आधारमा राम्रो व्यक्ति चुनिने भए २००७ सालदेखि यहि अनुहार कसरी दोहोरियो ? ७७ वर्षमा नेपालमा यी भन्दा क्षमतावान व्यक्ति कसैको जन्मै भएन ? अबको १० वर्षपछि पनि अहिलेका सत्तावृत्तको दलको नेतृत्वमा अहिले देखिएकै अनुहारहरूको पुनरावृत्त हुनेछ । नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोईराला भन्दा क्षमतावान व्यक्ति कोही नभएर गिरिजाप्रसाद कोइरालाको सभापतिमै रहेर प्राण गएको हो कि क्षमतावान व्यक्ति टाउको गन्ने पद्धतिबाट आउननसकेर हो ? मान्छेको टाउको गन्नुलाई " प्रजातान्त्रिक / लोकतान्त्रिक " मान्ने होइन । पात्रता अनुसारको पुरुषार्थ गर्नसक्ने व्यवस्था हुनुपर्छ । सायद अंग्रेजीमा भन्दा चित्त बुझ्छ होला - The right man at the right place.
५. सुगम ठाउँमा मिडियाको नजिक बसेर काम गर्ने मात्रै चिनिन्छ, उ नै क्षमतावान हो कि भन्ने भ्रम पर्ने गर्छ । जो दुर दराजमा बसेर अहोरात्र मेहेनत गरिरहेको छ त्यसको पात्रताको मूल्यांकन हुनुपर्दैन ? त्यस्ता पात्रलाई चिनेर उसको क्षमता अनुसारको स्थान उपलब्ध गराउने, अधिकार प्रयोग गरेर सकारात्मक परिवर्तन ल्याउने अवसर दिने र कुनै गडबढ गरे कारवाही गर्ने त्यस्तो व्यवस्था हो - आचार्य पद्धति ।
६. मौलिक जरोकिलो पार्टीका साथीहरू युगद्रष्टाले अभिनिर्माण गर्नुभएको सहृदयता दर्शन, आधारशीला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवाद अवलम्बन गर्ने सपथ लिएका छौं । यदि गुरुमा प्रतिमान परिवर्तन गर्ने महान् उद्देश्य नभएको भए यत्रो काम गरिसकेपछि अरु पार्टीमा जस्तै आफै अध्यक्ष बनेर, मलाई नै प्रधानमन्त्री बनाओ म नभएको कारण विकास नभएको हो । मलाई प्रधानमन्त्री बनाएपछि सब ठिक गरिदिन्छु । " भनेर भाषण गरेर बस्नुहुन्थ्यो नि । मलाई नै अध्यक्ष बनाओ भन्न थाल्नुभएको भए आज एकजना व्यक्ति खडा हुन्थ्यो, वहाँले अरुलाई प्रशिक्षित गरेर अघि सार्नुभएको हुँदा आज कैयौं यो दर्शन, वाद, सिद्धान्त, प्रतिमानको लागि खडा भएका छन् । यहि हो आचार्यमा हुनुपर्ने गुण । पार्टी खोलेर आफैलाई अध्यक्ष बनाउने त कति छन् कति ।
७. मेरो ज्ञानको दायरा पनि कम होला कि ? मैले पो नबुझेको होला कि ? मैले पनि कसैबाट सिक्नुपर्छ कि ? मैले नबुझेको पनि कुरा छ कि ? यस्तो भावना भयो भने त्यो मान्छेले गुरुको खोजि गर्छ । त्यसपछि वास्तविक ज्ञानको प्रारम्भ हुन्छ । मैले जे जति बुझे त्यो नै अन्तिम हो भन्न थाल्यो भने त्यो व्यक्ति पदमा नपुग्दासम्म हो, पदमा पुगेपछि " तैंले मलाई सिकाउने ? तैंले भनेको मैले किन मान्ने ?" भन्न थाल्छ । यो नेपालको सत्तावृत्तमा रहेका अधिकांस नेताहरूको रोग हो । विस्तारै अन्यत्र पनि देखिदैछ।
८. विशिष्ट नेतृत्त्व, सामुहिक कतृत्व र संस्थागत स्वामित्व हुन्छ । यसमा पूर्ण स्वतन्त्रता छ । दर्शन, वाद, सिद्धान्त, प्रतिमानको अभिनिर्माण व्यक्तिले नै गर्छन् । र योगदानको आधारमा कदर गर्नसक्नुपर्छ । सापेक्षताको सिद्धान्तको विकास अल्बर्ट आईन्सटाईनले सामुहिक रुपमा बसेर छलफल गरेर बनाएको होइन । संघमा गएर धम्मको अवलम्बन कैयौंले गरे । गौतम बुद्धले गोलमेच सम्मेलन गरेर आर्य अष्टाङ्गिक मार्ग बनाएको होइन । यी दुवै महान् व्यक्तिहरूले मानवीय सुखको लागि कार्य गरेका थिए । अल्बर्ट आइन्सटाइनलाई महान् वैज्ञानिक भनियो भन्दैमा व्यक्तिवादी भन्दै भौतिकशास्त्र पढ्नै छोड्ने ? गौतम बुद्धलाई भगवान / महामानव भनियो भन्दैमा बौद्ध धर्मलाई व्यक्तिवादी भन्न थाल्ने ?
९. सहृदयता दर्शन बुझ्नुभयो - छैन । आधारशीला चतुष्टय बुझ्नुभयो - छैन । बहुराष्ट्रिय राज्यको घातक एजेण्डा उठिसक्यो, राज्यराष्ट्र सिद्धान्त बुझ्नुभयो - छैन । द्वन्द्वात्मक भौतिकवादले संसारभर घृणा र द्वन्द्व फैलियो, स्थितिगत्यात्मक प्रगतिवाद बुझ्नुभयो - छैन । बेन राजालाई हटाएका ऋषिले आफु राजा नबनेर किन पृथुलाई बनाए बुझ्नुभयो - छैन । के बुझ्नुभयो त - व्यक्तिवादी । वाह ! पहिले बुझौँ र त्यसपछि टिप्पणी गरौँ । आचार्य पद्धति एक सफल पद्धति हो ।
यो पनि:
आचार्य पद्धति सम्बन्धमा थप सत्सङ्ग
(१) विचारधाराको सङ्घर्ष हो - "जरोकिलो" रोज्ने वा अरू रोज्ने ? "आचार्य पद्धति" वा "गुरुकुल विधि" हाम्रो मौलिकता हो । जस्ले वेस्टमिन्स्टर मोडल, ह्वाइटहाउस मोडल, बेजिङ मोडल, मास्को मोडल, दिल्ली मोडल मन पराउँछन्, तिनीहरूलाई "आचार्य पद्धति" / "गुरुकुल विधि" को विरोधी बन्न मन लाग्नु स्वाभाविक हो । मुखले मौलिकताको कुरा गर्ने, तर मौलिक विचारधारा नभएका र पराईको वैचारिक जालमा फसेका कसैलाई पनि "आचार्य पद्धति" / "गुरुकुल विधि" मन पर्दैन । हामी पो विचार तथा व्यवहार दुवै आयाममा मौलिक प्रतिमान अवलम्बन गरिरहेका छौँ, त्यसैले निर्धक्क, निर्द्वन्द्व, ढुक्कसँग "आचार्य पद्धति" / "गुरुकुल विधि" अवलम्बन गर्छौँ ।
(२) "आचार्य पद्धति" / "गुरुकुल विधि" हिमवत्खण्डमा हजारौँ वर्ष सफलापूर्वक चलिसकेको हो । वैदिक, बौद्ध, किरात, जैन, बोन आदि परम्परामा यसका प्रमाणहरू छन् । केही शताब्दी मात्र भएछ आचार्य पद्धति" / "गुरुकुल विधि" क्रियाशील नभएको । अब "आचार्य पद्धति" / "गुरुकुल विधि" को पुनरुद्धार, पुनः जागरण हुनै पर्छ ।
(३) "आचार्य पद्धति" / "गुरुकुल विधि" मा एक जना मात्र आचार्य, एक जना मात्र गुरु रहनुहुन्छ ? होइन । ऋषि परम्परा, बुद्ध परम्परा, मुहिगुम अङ्सीमाङ परम्परा, तोन्पा परम्परा, तीर्थङ्कर परम्परा, नाथ परम्परा, अनेकौँ गुरु परम्पराका उत्तराधिकारीहरू यहाँ रहनुहुन्छ । उहाँहरूमध्ये एक जना प्रधान आचार्य अवश्य हुनुहुन्छ । वर्तमान समयमा युगद्रष्टा गुरुलाई हामीले ऋषिसत्ताका उत्तराधिकारी एवं "आचार्य पद्धति" का प्रधान आचार्य मान्छौँ । उहाँको सर्वोच्च नेतृत्त्वमा धेरै जना आचार्यहरू / गुरुहरू सहितको बृहत्तर परिवार हो यो जरोकिलो महाअभियान परिवार ।
(४) वैचारिक सङ्घर्ष झन् झन् तीव्र र कडा हुनु हाम्रो लागि अनुकूल हो । जति हाम्रो आलोचना र बहस हुनेछ, उति नै हाम्रो प्रचार र शक्ति बढ्नेछ । "आचार्य पद्धति" / "गुरुकुल विधि" का अनुयायी हुनु गौरवको कुरा हो । यो विजयपथको यात्रा हो । सगौरव आचार्य पद्धति" / "गुरुकुल विधि" को प्रचार प्रसारमा जुटौँ । अघि बढौँ यो युग हाम्रो हो
प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "What is Acharya system? आचार्य पद्धति भनेको के हो ?"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article