-->
 "नेपालकाे गीत" शीर्षककाे कविता सर्वप्रथम

"नेपालकाे गीत" शीर्षककाे कविता सर्वप्रथम

Nepal : The Prosperous Country
राष्ट्रिय कविता महाेत्सव २०७७ मा देशभरिबाट प्राप्त  ५०२ ओटा कवितामध्ये "नेपालकाे गीत" शीर्षककाे कविता सर्वप्रथम हुने कवि एवं साहित्य वाटिका नेपालकी संयाेजक भैरवी भूगाेल  लाई वधाई छ।
 
भैरवी भूगोल 

शीर्षक: नेपालको गीत

ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ –
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको सिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको विरुवा
विकास गरौँ –
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरुमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरुका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियुन्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखुन् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरु ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
सिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन ,पहिचान बोकेर 
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहुन्
मेरा सन्ततीहरू
गाइरहुन् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।

प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to " "नेपालकाे गीत" शीर्षककाे कविता सर्वप्रथम "

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article